काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए ।
उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गरे । उपमहासचिव ज्ञवालीले आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाए ।
उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रुपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताए । उनले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए ।
उपमहासचिव ज्ञवालीले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गरे । उनले हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुःशासहसले नै अहिलेको गठबन्धनको तस्बीर देखाउने बताए । उनले भिडियो पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गरे । उपमहासचिव ज्ञवालीले उक्त भिडियोले नेपालको अहिलेको कुरुप तस्वीर देखाएको बताए । उनले राज्यले एकथरि उद्योगलाई लाभैलाभ र अर्कोथरिलाई बन्द गर्नुपर्ने अवस्थामा पुर्याएको बताए । उनले अहिले सिंगो अर्थतन्त्र केही मुठीभर व्यक्तिको नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको भन्दै गठबन्धन सरकारको एकवर्षलाई देशको लागि कुशासन र बरबादीको वर्षको रुपमा चित्रण गरे ।
उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाए । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे ।
कार्यक्रममा एमाले नेता एवं नेकपा एमालेका उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका अध्यक्ष यज्ञराज सुनुवार पनि उपस्थित रहेका थिए । समितिले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचकहरुको अवस्था, खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको अवस्था, इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धिको अवस्था, निर्माण सामग्रीको मूल्यवृद्धिको अवस्था र पिछडिएको क्षेत्र कणर्ालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया