मोदी र प्रचण्डबीच २ घण्टा लामो भेटमा के कुराकानी भयो ?

काठमाडौँ– भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । छलफल करीब २ घण्टा बढी समय चलेको थियो ।

नेपालमा जलविद्युत्को विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठको एक बृहत्तर ‘सर्किट’ बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो ।

सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सीमामा बेलाबखतमा देखिने समस्याको समाधान र सीमा क्षेत्रका भन्सारको स्तरोन्नतिको विषयमा पनि विचारविमर्श भएको थियो ।

दुई देशको आपसी हितलाई कसरी थप सुदृढ गर्ने भन्ने विषयमा छलफल गर्दै उहाँहरुले पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा गम्भीर छलफल भएको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका रुपमा भारतको भ्रमण गर्दा भारतले गर्ने भनिएको सहयोगलाई मूर्त रुप दिने सम्बन्धमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीका रुपमा अध्यक्ष दाहालको भ्रमणका क्रममा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?