साफ च्याम्पियनसिप: बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

बंगलादेश। नेपाल समूह विजेता बन्दै 'साफ' च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा शनिवार राति भएको समूहको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि भारतमा भएको संस्करणमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह ‘ए’बाट नेपाल र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेल शुरु भएको ३ मिनेटमा नै बंगलादेशले  पहिलो कर्नर हान्ने मौका पायो । तर, नेपाली गोलकिपर किरण चेम्जोङलेले सहजै बललाई नियन्त्रणमा लिए । खेलको १० औँ मिनेटमा बंगलादेश काउन्टर अट्याकमा गोल गर्न चुक्यो ।

बंगलादेशले प्रहार गरेको बल नेपालका डिफेन्डर आदित्य चौधरीले क्लियर गरे । खेलको १४ औँ मिनेटमा नीराजन खड्काको क्रसमा सुनिल बलले हेड गर्ने मार्फत गोल गर्ने प्रयास बंगलादेशका डिफेन्डरले क्लियर गरे ।

२५ औँ मिनेटमा बंगलादेशले प्रहार गरेको फ्रि-किक रोहित चन्दले विफल पारिदिए ।

३३ औँ मिनेटमा बिमल घर्तिमगरले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । बिमलले जारी 'साफ' च्याम्पियनसिपमा गरेको यो दोस्रो गोल हो । यसअघि बिमलले पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । 

यो गोलसँगै विमलले चार गोल पुर्‍याएका छन् । यसअघि ‘साफ’ च्याम्पियनसिपमा नेपालका जुमानु रार्इ र अनिल गुरूङले चार-चार गोल गरेका थिए । 

३६ औँ मिनेटमा नेपालले फ्रि-किक हान्ने मौका पायो । नेपालका सुनिलले खेलमा दोब्बर अग्रता लिने अवसर गुमाए । सुनिलले प्रहार गरेको बललाई सुजल श्रेष्ठको हेडर पोस्टभन्दा माथिबाट बाहिरियो । 

दोस्रो हाफको शुरुवाती समयमा नै नेपालले अर्को गोल गर्ने मौका गुमायो । ५४ औँ मिनेटमा भरत खवासले प्रहार गरेको उत्कृष्ट बल बंगलादेशका गोलकिपरले बचाए। 

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ८० औँ मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठको पासमा सुमन अर्यालले गोल गरे । तर, रेफ्रीले अफसाइट दिए । खेलको ८९ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । 

यसअघि सन् २०१३ काठमाडौंमा भएको 'साफ' च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गरेको थियो । त्यतिबेला नेपालका पूर्व कप्तान अनिल गुरूङ र भरत खवासले गोल गरेका थिए ।

नेपाल समूहको विजेता र पाकिस्तान उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । नेपाल र पाकिस्तानले समान ६-६ अंक बनाएपनि गोल अन्तरको आधारमा नेपाल समूह बिजेता बनेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?