प्रस्तावित प्रधानन्यायाधीश मिश्रका प्रमाणपत्रमा छैन लफडा

काठमाडौं–प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आगामी सोमबार हुने भएको छ ।  मिश्रविरुद्ध  तीनवटा उजुरी परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
संसदीय सुनुवाइ समितिमा प्राप्त प्रमाणपत्रअनुसार मिश्रको जन्म सन् १९५४ जनवरी १ मा भएको स्रोतले बतायो । मिश्रले सन् १९६९ मा भारत उत्तर प्रदेशको नौतनुवामा माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल अध्ययन गरेका हुन् । १९९१ को जुलाई ६ मा उनले नौतनुवाबाटै इन्टरमिडियट पास गरेको देखिन्छ । उनले १९७३ मा गोरखपुर विश्वविद्यालयबाट विज्ञान संकायमा दोस्रो श्रेणीमा स्नातक गरेका हुन् ।

उनले सन् १९७९–८० मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका हुन् । सन् १९८५ मा त्रिभुवन विश्वविद्यालयबाट उनले राजनीतिशास्त्रमा स्तातकोत्तर गरेका छन् । सन् उनीसँग १९८८ मा दिल्ली विश्वविद्यालयबाट एलएलएम उत्तीर्ण गरेको प्रमाणपत्र छ ।
यसअघि प्रधानन्यायाधीशमा संवैधानिक परिषद्बाट सिफारिस भए पनि सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीको भने जन्ममिति तथा एसएलसीको प्रमाणपत्रमा त्रुटि तथा परस्पर विरोधाभास देखिएको थियो । तर, मिश्रको प्रमाणपत्रमा भने त्यस्तो त्रुटि नदेखिएको सुनुवाइ समितिका एक सांसदले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?