चौतारी लघुवित्तलाई पाँच करोड बराबरको आईपीओ निष्काशनको अनुमति

बुटवल । चौतारी लघुवित्त बुटवलले रु पाँच करोड ४० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ । 

लघुवित्तले शेयर निष्काशनको अनुमति पाएपछि बढीमा दुई महिनामा साधारण शेयर जारी गर्ने अध्यक्ष जगत पोखरेलले जानकारी दिए । धितोपत्र बोर्डले लघुवित्तलाई आइपिओ जारी गर्न बिहीबार मात्रै अनुमति दिएको थियो । 

झण्डै रु १२ करोड ६० लाख चुक्त पूँजी रहेको लघुवित्तले रु १०० अङ्कित दरले पाँच लाख ४० हजार कित्ता साधारण शेयर निष्कासनपछि लघुवित्तको रु १८ करोड चुक्त पूँजी पुग्ने बताइएको छ । लघुवित्तको अधिकृत पूँजी रु ३० करोड रहेको छ । 

“पब्लिक शेयरमा गएपछि मात्रै आर्जन गरेको नाफा लगानीकर्तालाई बाडन पाउँछौँ रासससँग कुरा गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो । रु एक करोड दुई लाख नाफा आर्जन गरेको लघुवित्तले रु २२ करोड ३४ लाख निक्षेप सङ्कलन गरेको छ भने रु ४४ करोड ३४ लाख सापट गरेर रु ७७ करोड ५५ लाख कर्जा परिचालन गरेको छ । रुपन्देही, नवलपरासी, कपिलवस्त, गुल्मी, अर्घाखाची, पालपा, दाङ, प्युठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र लघुवित्तको कार्यक्षेत्र पर्छ । विसं २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी राजिष्ट्रार कार्यालयमा दर्ता भएको लघुवित्त संस्थाले विसं २०७२ मा राष्ट्र बैंकबाट(घ) वर्गको वित्तीय कारोवार गर्न अनुमति पाएको बताइएको छ । 

२२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्ध गराएर सो लघुवित्तले ३४ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?