प्रचण्डले के भने भारतीय गृहमन्त्री सिंहलाई ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार भेटवार्ता भएको छ । 

भेटमा अध्यक्ष प्रचण्डले नेपाल–भारत सीमाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे कुरा उठेपछि प्रचण्डले गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना हुन नदिने विश्वास दिलाएको अध्यक्ष प्रचण्डले जानकारी दिए । 

त्यस्तै उनले सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य रहेको बताउँदै नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको बताए । 

भेटमा नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने कुरासमेत भएको उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?