महोत्तरीमा अनिश्चितकालका लागि विद्युत सेवा अवरुद्ध

महोत्तरी । महोत्तरीमा विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीय व्यक्तिहरुले हातपात गरेपछि महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिन्डाको विद्युत सेवा अवरुद्ध भएको छ । 

बिहीवार विद्युत चुहावट रोक्न गएका कर्मचारीमाथि स्थानीय व्यक्तिहरुले कुटपिट गरेका थिए । कर्मचारी कुटिएपछि नेपाल विद्युत् प्राधिकरणले आरोपीहरुमाथि कारबाही नभएसम्म सो क्षेत्रमा अनिश्चितकालका लागि विद्युत अवरुद्ध गरेको जनाएको छ ।  

नेपाल बिद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयको निर्देशन र माथिल्लो निकायको निर्देशनमा उक्त क्षेत्रमा विद्युत अवरोध गरिएको जलेश्वर वितरण केन्द्रका प्रमुख ई. माघवेन्द्र यादवले जानकारी दिए ।

पन्धसय ग्राहक रहेको सम्सी गाउपालिका–५ पोखरभिन्डामा बिहीबार बिहान १० बजेदेखि सो स्थानमा रहेको दुई ट्रान्सर्फमरबाट विद्युत सेवा काटिएको छ । 

विद्युत सेवाअवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । विद्युत अवरुद्ध हुँदा गर्मीमा बालबालिका र वृद्धहरुलाई धेरै समस्या परेको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?