निर्मला हत्याको ४५ दिन : महानिरीक्षक खनालले भने, ‘धैर्य गर्नुस्, अपराधी पत्ता लाग्छ’

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारसँग आज विहान महेन्द्रनगर उल्टाखामस्थित घरमा भेट गरेका छन् । 

बिहीवार साँझ काठमाडौंबाट सुदूरपश्चिमको धनगढी प्रस्थान गरका खनालले आज विहान कञ्चनपुरको महेन्द्रनगरस्थित निर्मलाको घरमै पुगेर हत्यारालाई कानुनी दायरामा नै ल्याएर छोड्ने प्रतिवद्धता जनाएका छन् । 

महानिरीक्षक खनालले निमर्लाको हत्याले दुःखी तुल्याएको भन्दै अपराधी पत्ता लाग्न केही समय लाग्ने भएकाले धैर्य गर्न समेत आग्रह गरेका छन् । 

निर्मलाका आमाबुबा तथा आफन्तसँग खनालले करीब आधा घण्टा कुरा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । निर्मला हत्याको करीब ४५ दिन पुग्नै लाग्दा पनि प्रहरीले हत्यारालाई पक्राउ गरी घटनाको यथार्थ विवरण तथा सत्यतथ्य सार्वजनिक गर्न सकेको छैन । 

महानिरीक्षक खनालले बालिका निर्मलाको हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो प्रहरीको एसएसपी कै कमाण्डमा अनुसन्धान टोली खटाई सकेकाले सोही टोलीले हत्यारालाई पत्ता लगाउनका साथै सत्यतथ्य बाहिर ल्याउने कुरामा विश्वास गर्न पीडित परिवारसँग आग्रह गरे । 

पीडित परिवारले निर्मलाको हत्या अनुसन्धानमा ढिलाई भइरहेकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले अपराधीको मनोबल बढ्दै जाने बताएका छन् । प्रहरीले निर्मलाको खोजतलासमा देखाएको उदासिनता र लापरवाहीका कारण हत्या भएको गुनासो गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्या घटनामा नाम जोडिएका निलम्वीत एसपी विष्टको छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजाको संलग्नता नदेखिएको बताएको छ । सो घटनामा संलग्नत रहेको भनिएका बम दिदी वहिनीको वयानबाट पनि हत्यारा पत्ता लाग्न सकेको छैन । 

त्यस्तै, निर्मला हत्याको अभियोगमा पक्राउ परेका ४३ वर्षीय दिलिपसिंह विष्टको उपचारपछि डिएनए टेष्ट गर्ने तयारी भइरहेको छ । मानसिक सन्तुलन गुमाएका विष्टले नै निर्मलाको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?