नेपाल चीनबीच ऐतिहासिक ‘प्रोटोकल’मा सम्झौता

काठमाडौं । नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता प्रोटोकल (कार्यविधि)मा ऐतिहासिक सहमति भएको छ । 

बुधबारदेखि काठमाडौंको होटल सोल्टीमा चलेको दुई देशका अधिकारीहरूको बैठकले बिहीबार मध्यरातमा ऐतिहासिक सम्झौता भएको हो । 

सम्झौतामा नेपालले अब चीनको बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ । नेपालले अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्सेलगायतका सुख्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । 

व्यापार र पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति जनाएको हो । 

नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतालाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसेको हो । 

प्रोटोकल टुंग्याउन यसअघि नै २ वटा बैठक चीनमा भइसकेको थियो । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने दोस्रो बैठक पनि चीनमै भएको थियो ।

बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले  गरेका थिए भने बैठकमा पराराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी भएका थिए । त्यस्तै चीनको तर्फबाट चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले बैठकको नेतृत्व गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?