काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल अमेरिकालाई लेख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले अमेरिकासँगको एसपीपी सम्झौता अस्वीकार गर्ने निणर्य गरेको भएपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको बताए। उनले सरकारले गरेको यसप्रकारको निणर्यको औपचारिक जानकारी अमेरिकी सरकार र सम्बन्धित प्रदेशलाई पत्राचारमार्फत तत्काल दिनुपर्ने बताए । सांसद श्रेष्ठले कुनैपनि सैनिक गठबन्धन वा शक्ति राष्टहरुसँग अन्तर्निहीत हुने कुनैपनि कदम चाल्न सरकार तयार हुनु नहुने दिशामा अगाडी बढ्न अपील पनि गरे ।
सांसद श्रेष्ठले संसदबाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको सम्बन्धमा पनि अमेरिकी सरकारले धारणा प्रष्ट नगरेकाले अमेरिकाको धारणा माग्न पत्राचार गर्नुपर्ने बताए । अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगरेमा एमसीसी सम्झौतालाई नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ छ ।
सांसद श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले उनले राजीनामा दिनुपर्ने बताए । गर्भनर अधिकारीले पद छोड्नु बेश हुने उनको भनाइ छ ।
सांसद श्रेष्ठले सरकारले संबैधानिक परिषद् सम्बन्धि विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए । तत्कालिन केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा हालका प्रधानमन्त्रीदेखि हाल सत्तारुढ सबै राजनीतिक दलले विरोध गरेको स्मरण गराउँदै उनले सरकारले सोही सारतत्वको विधेयक ल्याउन नहुने बताए। उनले सरकारमा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने गर्नु नहुने बताए ।
सांसद श्रेष्ठले आगामी संघ र प्रदेशको निर्वाचनमा निर्वाचन आयोगले कुनैपनि विदेशी निकायहरुसँग आर्थिक सहयोग लिनु नहुनेमा ध्यानाकर्षण गराए । यदी आर्थिक सहयोग आवश्यक भएमा आयोगले प्रत्यक्ष रुपमा नलिइ अर्थ मन्त्रालयमार्फत लिनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया