काठमाडौं । प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्तारुढ गठबन्धनलाई सघाउने भएको छ । लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको जनाइएको छ ।
गठबन्धनबाट नेपाली कांग्रेसकी भुसालको उम्मेदवारी दर्ता भइसकेको छ भने, उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनको उम्मेदवारलाई लोसपाले पनि समर्थन गर्नेे भएपछि एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवारमा अघि सारेको छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली रहँदै आएको थियो । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यसूची प्रकाशन गरिएको थियो । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ ।
संविधानमा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ । हाल सभामुख नेकपा माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेकाले अब उपसभामुख अरु कुनै दलबाट र महिला हुनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया