काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुख पदको मनोनयन दर्ता कार्यतालिका आज तोकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयनबारे छलफल भइरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिने बताइएको छ ।
उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । उपसभामुखको उम्मेदवारीबारे नेकपा एमाले अध्यक्ष ओली निवास बालकोटमा छलफल भइरहेको छ ।
एमालेले सकेसम्म आफू उम्मेदवारी नदिएर अरू साना दलले उम्मेदवारी दिए समर्थन गर्ने रणनीति लिएको छ । एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले उम्मेदवारी दिनेबारे एमाले अध्यक्ष ओली निवास बालकोटमा छलफल चलिरहेको जानकारी दिए ।
उनले सकेसम्म अरू दललाई समर्थन गर्ने जानकारी दिए । यदि अरू दलबाट उम्मेदवारी नपरेको खण्डमा एमालेले उम्मेदवारी दिने जानकारी गराएको छ । मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी पनि उपसभामुखको उम्मेदवारी बारे अन्यौलमै छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली रहँदै आएको थियो । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ । हाल सभामुख नेकपा माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेकाले अब उपसभामुख अरु कुनै दलबाट र महिला हुनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया