निर्मला हत्या प्रकरण: ‘अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि’

भीमदत्तनगर । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । 

भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना अन्सारीले जुन प्रक्रियाबाट प्रहरी/प्रशासनले अनुसन्धान गर्नुपर्ने हो त्यो नभएको आयोगको ठहर रहेको बताइन् । “जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, प्रवक्ता अन्सारीले भनिन्, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।” 

घटनापछि आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ । यहाँ आएको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलगायतसित भेट गरेको प्रवक्ता अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

आयोगले प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था, घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा शुरुआती अवस्थामा नै प्रहरीको अनुसन्धान प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको जनाइएको छ । 

त्यसैगरी आयोगको प्रदेश नं ७ को कार्यालयमा महिला हिंसासम्बन्धी गत आर्थिक वर्षमा २० उजुरी परेको र हाल उक्त उजुरीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

आयोगले शुक्रबारदेखि नेपाल प्रहरीसितको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणमा प्रहरीको जवाफदेहिता’ विषयमा राष्ट्रिय अभियानको प्रारम्भ गर्दैैछ । महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भ गर्न लागिएको अभियानका क्रममा सबै प्रदेशसहित काठमाडौँमा समेत विभिन्न कार्यक्रम आयोजना हुनेछ । 

पत्रकार सम्मेलनम आयोग प्रदेश नं ७ का कार्यालय प्रमुख झङ्कर रावललगायतको सहभागिता थियो । सम्मेलनमा कञ्चनपुरका सञ्चारकर्मीले निर्मला हत्या प्रकरणमा आयोग गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । पन्तको शव गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको हाल उच्चस्तरीय छानबिन समिति, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?