निर्माणको पर्खाइमा रुकुम रंगशाला

रुकुम । रुकुम ‘पश्चिम’को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रंगशाला अलपत्र परेको छ । 

आर्थिक वर्ष ०७०/७१ देखि शुरु गरिएको रंगशाला निर्माणका आर्थिक वर्ष ०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । 

खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आर्थिक वर्षमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । 

रंगशाला निर्माणका लागि ६ स्थानीय बासिन्दाले १९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 

६ रोपनी सार्वजनिक जग्गा पनि रंगशालाको नाममा पास गरिएको पानढुङ्गा स्पोर्ट भिलेज फाउण्डेशनका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिए ।  निःशुल्क जग्गा उपलब्ध गराउन उत्साहित दाता रंगशाला निर्माण अलपत्र परेपछि निराश भएका छन् भन्दै उनले तत्काल काम शुरु गर्नुपर्नेमा जोड दिएका छन्। 

रंगशाला निर्माणका लागि आर्थिक वर्ष ०७०/७१ मा १ लाख ५० हजार, ०७१/७२ मा ५ लाख, ०७२/७३ मा  १५ लाख र ०७३/७४ मा  ४५ लाख गरी हालसम्म ६६ लाख ५० हजार खर्च भएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । 

उक्त बजेटबाट रंगशालाको ट्रयाक खोल्ने काम गरिए पनि अझैसम्म पूरा भएको छैन । 

रंगशालाको डिपिआरका लागि आर्थिक वर्ष ०७३/७४ मा ५ लाख विनियोजन गरिए पनि अहिलेसम्म डिपिआर हुनसकेको छैन ।

निर्माणका लागि आउने रकम मध्येबाट कटाएर ५ लाख डिपिआरका लागि छुट्याइए पनि राष्ट्रिय खेलकुद परिषद्बाट त्यसका लागि टोली नखटाइएको र सो रकम पनि के मा खर्च भयो भनेर जानकारी नगराइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख छविलाल केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?