साफ च्याम्पियनसिप: नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दवाव

बंगलादेश । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । 

बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न पौने ४ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि बिहीवारको खेल जित्नै पर्ने दबाब छ । 

साफ च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने-सामने भएका छन् । जसमा दुवै खेल नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाटै बाहिरिनेछ ।  

नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण तीन-तीन अंक जोडिसकेका छन् । त्यसैले पनि नेपाललाई जित्नै पर्ने दबाब रहेको ढाकामा रहेका एन्फा उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।  

‘बिहीवारको खेल नेपालका लागि गर या मरको अवस्था हो’ उनले भने । नेपालले भुटानसँग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २-० गोलले हराएको थियो ।

त्यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३-१ ले हराएको थियो । 

प्रारम्भिक नेपाली टिम

गोलकिपर- किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर- दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल

मिडफिल्डर- हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, नीराजन खड्का 

फरवार्ड- भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?