युएस ओपन टेनिस: जोकोभिच र निस्सीकोरी सेमिफाइनलमा प्रवेश

अमेरिका । सर्बियाली नोभाक जोकोभिच र जापानका केई निस्सीकोरी जारी युएस ओपन टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बुधवारराति सम्पन्न भएको पुरुष एकलतर्फको क्वाटरफाइनल खेलमा सर्बियाली जोकोभिचले अस्ट्रेलियाका जोन मिलमानलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । 

जोकोभिचले खेलको पहिलो सेटमा मिलमानलाई ६-३ ले सहजै पराजित गरेका थिए । त्यस्तै, दोस्रो सेटमा ६-४ र अन्तिम सेट ६-४ ले आफ्नो पक्षमा पारेका थिए ।

त्यस्तै, बुधवार राति नै भएको अर्को खेलमा जापानका निस्सीकोरीले क्रोशियाका मारिन सिलिकलाई ३-२ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे । 

खेलको पहिलो सेट ६-२ ले गुमाएका निस्सीकोरी दोस्रो सेट ६-४ ले आफ्नो पक्षमा पारे । तेस्रो सेट ७-६ ले जितेका निस्सीकोरी चौथो सेटमा पराजित भए । ६-४ ले चौथो सेटमा हार बेहोरेको निस्सीकोरीले पाँचौ सेट ६-४ ले जित्दै अघिल्लो चरणको यात्रा तय गरे । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?