मेरो एक महान राजनीतिक गुरु नवीन्द्रराज जोशी

लोकपथ
2.2k
Shares

सुशान्त आचार्य/काठमाडौं-

देशलाई सुसमृद्धितर्फ डोहोर्‍याउने कसी हो राजनीति । राजनीतिमा निष्ठा, इमानदारिता, आदर्श तथा निःस्वार्थको मार्गमा हिँड्ने सच्चा, राष्ट्रप्रेमी राजनेता पाउन अत्यन्त कठिन हुन्छ। इमान, आदर्श एवं निष्ठाका पर्याय हुनुहुन्थयो आदरणीय नेता स्वर्गीय नवीन्द्रराज जोशी । साँच्चै भन्नुपर्दा राजनैतिक कौशलका आधारमा नेपालकै अग्रगण्य हुनुहुन्थ्यो उहाँ। जनताद्वारा अत्यन्त रुचाइएको जाज्वल्यमान मणिका रुपमा मैले चिन्दथेँ र धेरैले सोही अनुसार प्रशंसा गर्ने गर्छन् ।

आफ्नो स्वच्छ छविद्वारा कुशल नेतृत्वको उदाहरण बन्नुभएका दाजु, हरेक राष्ट्रप्रेमी जनताका मनमुटुमा बस्न सफल हुनुहुन्थ्यो । उच्च पदको लालसामा कोही राजनीतिमा लाग्छन् भने कोही धनमात्र थुपार्न पछि पर्दैनन् । त्यसका लागि बाबुआमा र दाजुभाइ समेतलाई अन्धविश्वास गर्छन् र अन्त्यमा शान्ति पाउँदैनन् । यस विपरीत मेरो सम्पूर्ण जीवन सत्कर्ममा अर्पण गर्छु र मैले गरेका कामबाट मैले खेद गर्न नपरोस्, इमानविपरीत म कुनै काम गर्ने छैन र यही नै मेरो पूर्ण जीवन हो भन्ने भावले राजनीतिलाई जसले अँगाल्छ, उसले पूर्ण तथा सार्थक जीवन जिउन सफल हुन्छ भन्ने भाव दाजुमा थियो ।

उहाँ यसको अद्वितीय उदाहरण हुनुहुन्थ्यो । ब्राह्मण कुलमा जन्मिएर पनि उहाँका अभिरुचि हरेक जातजातिका भाषा, पर्व एवं रीतिरिवाजमा थियो । आध्यात्मिक क्षेत्रमा उहाँको जीवन साँच्चै नै प्रेरणाको ठूलो पाठशाला थियो । मन्त्रीजस्तो उच्च पदमा आसीन भए तापनि विलासी जीवनलाई पूर्णतः अस्वीकार गरी आध्यात्मिक पक्षबाट जीवन सार्थक पार्ने कुशल व्यक्तित्व हुनुहुन्थ्यो । जप, तप आदि नित्यकर्मबाट नै उहाँको दिनचर्या सुरु हुन्थ्यो हरेक सोमबार र शनिबार पशुपतिनाथको आराधना र मंगलबार गणेशजीको आराधना नगरी उहाँको दैनिकी पूर्ण हुँदैनथ्यो । आध्यात्मिक पक्षमा आघात पर्ने विधेयकका विरुद्ध आन्दोलन गर्ने दाजु संस्कार एवं संस्कृतिको संरक्षणमा दत्तचित्त भई लाग्नुहुन्थ्यो । गुठी ध्वस्त पार्ने विधेयकका विरुद्ध आन्दोलनको नेतृत्व गर्नुभएका उहाँ गुठी संरक्षणमा सफल हुनुभयो ।

इन्द्रजात्राको संरक्षणमा पनि उहाँको अमूल्य योगदान थियो । त्यसो त १६ वर्षे कलिलो उमेरमै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्मको जिम्मेवारीमा रही उहाँले पञ्चायतका विरुद्ध प्रबल संघर्ष गर्नुभयो । २०३६ सालको विद्यार्थी आन्दोलन, ४२ सालको सत्याग्रह र ४६ सालको जनआन्दोलनमा विद्यार्थी कमाण्डरका रुपमा अतुलनीय भूमिका निर्वाह गर्नुभयो । २०४६ को परिवर्तन पश्चात् समाजकल्याण परिषद्को कोषाध्यक्ष र काठमाडौं महनगरको संस्थापक उपप्रमुखका रुपमा त्यहाँको जग बसाउने र वर्तमान काठमाडौंको निर्माणको मार्गचित्र कोरि विद्युतीय सवारी भित्र्याइ राष्ट्र र काठमाडौंबासीका निम्ति दूरागामिनी योगदान दिनुभयो । नेपाल नगरपालिका संघको परिकल्पना गरि देशभरिका नगरपालिकाका समस्या राखेर सामूहिक यत्नबाट समस्या समाधान गर्ने फोरमका रुपमा विस्तृत खाका बनाइ संस्थापक महासचिवको भूमिका निर्वाहन गर्नुभयो ।

आफ्नो राजनीतिक जीवनका गुरु लौहपुरुष वीर गणेशमान सिंहको मार्गदर्शनमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानको स्थापना गरि विद्वत सभा र नीति विचार अन्तर्क्रिया कार्यक्रम गरेर र उहाँको जीवनीमा आधारित वीर गणेशमान चलचित्रको निर्माण गर्नुभयो । उद्योगमन्त्री समेत हुनुभएका उहाँ बन्द भएका स्वदेशी उद्योगहरुको पुनर्निर्माण एवं सञ्चालनमा ल्याउन सफल हुनुभयो । अस्ताएको नेपाल औषधी लिमिटेडको उदयमा उहाँको अतुलनीय योगदान छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेर नेपालमा खर्बौँ लगानी भित्र्याउनुभयो । उहाँले संस्कार, संस्कृतिको संरक्षण एवं देशको अर्थतन्त्रको उत्थानका निम्ति गर्नुभएको महान् कार्यहरु नेपाली जनताका मनमस्तिष्कमा सदा अमर रहनेछन् ।

राजनैतिक परिपाटीभन्दा बाहेक उहाँलाई मैले नजिकबाट चिन्न सकेको थिएँ । उहाँकै सामीप्यमा रहेर उहाँको जीवनलाई बुझ्न पाएँ । नेपाली कांग्रेसको राजनीतिमा विगतदेखि पाइला टेकेको थिएँ । राजनीतिको सामान्य अर्थ बुझेको मलाई ताते गराउँदै उहाँले अघि हिँड्न सिकाउनुभयो । साँच्चै नै म स्वर्गीय दाजुको राजनीतिक विश्वविद्यालयको एउटा विद्यार्थी हुँ । म गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको साक्षात् सामीप्य नपाए पनि उहाँहरुकै निगरानीमा हुर्किएको सुशील नेताको छत्रछायांमा बस्न पाउँदा मलाई गर्वको महसुस भएको छ । उहाँले मलाई देश चिनाउनुभयो देशको जनजाति, परम्परा, रीतिरिवाजमा भिज्न सिकाउनुभयो । धेरै कुरा उहाँबाट अनुशरण गरेर म आजसम्म आएको छु भन्दा गर्व महसुस हुन्छ । समग्रमा भन्नुपर्दा उहाँबाट मैले राजनीतिको कखराबाट ठूलो किताबसम्म पढ्न सिकेँ । आँखामा राख्दा पनि नबिझाउने दाजु आज हामीमाझ नरहनुभए तापनि उहाँको सत्कृतिको स्मृति, व्यवहार, स्नेह आदि हरेक कुराहरु अमर नै रहनेछन् ।

उहाँको इमानदारिताको बयान सायदै शब्दद्वारा दुर्गम्य होला वैयक्तिक व्यवहार र उहाँको छत्रछायाद्वारा मैले धेरै कुरा सिक्न पाएको छु । मैले आफ्नो जिन्दगीको उत्तरार्धसम्ममा दाजुकै इमान अनि सद्गुणको अनुसरण गर्न सकूँ ।

आज गुरुपूर्णिमाको पावन अवसरमा अज्ञान अन्धकार हटाइ ज्ञानरुपी शिक्षा दिनुहुने र सदैव सत्मार्ग हिड्न अभिप्रेरित गरिरहनु हुने गुरु स्व.नवीन्द्रराज जोशीप्रति हार्दिक नमन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

(आचार्य नेपाली कांग्रेसको राजनीतिमा संलग्न छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?