रिहा भएलगत्तै प्रकाण्ड पुन : पक्राउ

भोजपुर–नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी गरेको आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ जिल्ला न्यायाधीश हरिषचन्द्र इङ्गनामको एकल इजलासले ६० हजार धरौटीमा रिहा गरिएलगतै पुनः पक्राउ गरी दाङ लगिएको बताइएको छ ।

धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विस्फोट गराएको मुद्दामा २५ हजार, षडानन्द नगरपालिका–३ भिरथाप्लोमा भएको बम विस्फोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका–२ सहकारी टोलमा वाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विस्फोटमा १० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी एवं स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।
उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले वादीका तर्फबाट वकालत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा अधिवक्ता भीषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्डलाई पुनः पक्राउ गरी दाङतर्फ लाने भएको छ । प्रकाण्डलाई मङ्गलबार विराटनगर हुँदै भोजपुर ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?