काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्ने भएको छ । सोमबारदेखि सुरू भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।
हिजोको बैठकमा उपसभापति पूणर्बहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन पेस गरेका थिए भने महामन्त्री गगन थापाले बैठकमा प्रस्ताव र प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिको प्रतिवेदन पेस गरेका थिए । हिजोको बैठकमा केही केन्द्रीय सदस्यहरू र प्रदेशका सभापतिहरूले आफ्नो धारणा राखेका थिए ।
गठबन्धन गर्न नहुने सुझाव :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले आगामी संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन् । हिजो (सोमबार) देखि सुरुभएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गुरु बराल र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन गर्न नहुने मत राखेका हुन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो । कांग्रेसभित्र नेता डा.शेखर कोइराला पक्षले गठबन्धनको विपक्षमा मत राख्दै आएको छ । केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा पक्षकै नेताहरुले पनि गठबन्धनको विपक्षमा मत राखेका छन् ।
सात वटै प्रदेशका सभापतिहरुलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको बैठकमा बोल्ने क्रममा बलायरले सुदूरपश्चिममा कांग्रेस एक्लै लड्न तयार रहेको बताए थिए । ‘गठबन्धनका अरु दलले आफ्नो शक्ति भन्दा बढी हैसियत खोज्छन् । उनीहरुको शक्ति बढाउन कांग्रेसले गठबन्धन किन गर्ने ?’ नेता बलायरले भने ।
नेता बरालले सैद्धान्तिक विचार फरक रहेका शक्तिसँग तालमेल गर्दा कांग्रेसको नैतिक धरातल कमजोर हुने धारणा राखेका छन् । ‘सैद्धान्तिक रुपमा फरक फरक विचारका छौं । कांग्रेस आफ्नो बलमा पनि लड्न सक्छ । तालमेल गर्नुअघि धेरै विचार पुर्यायौं’ बरालले बैठकमा भने ।
‘नेतृत्वमा रहेकाले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको विकास गरियोस् । विधि, विधान भन्दा माथि हामी कोही छैनौं । पार्टी विधिसम्मत चल्नु पर्यो पार्टी सबैको हुनुपर्यो’ शेखरले भने ।
सोमबार नै बैठकमा धारणा राखेका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक नभएको दाबी गरे । पार्टीमा फरक मत राख्ने कार्यकर्तालाई वडा तहदेखि केन्द्रसम्म अन्याय गरिएको भन्दै उनले सभापति देउवाको आलोचना गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया