प्रचण्डले भने – समृद्ध नेपाल बनाएर छोड्छौँ

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताएका छन् ।

मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले भने, “अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना छ ।” पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उहाँले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताए ।

वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उनको भनाइ छ । अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उहाँले भन्नुभयो, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम सकिने बित्तिकै सडक राम्रोसँग बनाउँछौँ अनि निराशा धेरै कम हुन्छ ।” अब काठमाडौँ सफा भएपछि देश पुरै सफा हुन्छ भन्ने मानिसमा आशा जाग्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक उत्पादनसँग जोडिनुपर्ने बताए । साथै उनले सबै मिलेरमात्र मुलुक समृद्ध बन्ने भएकाले सरकारको काममा सहयोग गर्न आग्रह गरे ।

मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, राष्ट्रियसभाका सदस्य तथा समितिका सभापति रामनारायण विडारी, प्रदेश नं ३ का प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल माइकल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतले सरकारले जनविश्वास जित्नेगरी विकास निर्माणमा लाग्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?