समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिन चीन सकारात्मक

काठमाडौं । चीनले नेपाललाई सबैजसो समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक भएको छ । 

बुधबारदेखि काठमाडौंको होटल सोल्टीमा शुरु भएको दुई दिने छलफलमा चीनका प्रतिनिधि निकै लचकताका साथ प्रस्तुत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

चीनका प्रतिनिधि टोली मंगलबार नेपाल आइपुगेका थिए । 

मन्त्रालयका सहसचिव ढकालका अनुसार हामीले सबै समुन्द्री बन्दरगाह र केही सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने गरी प्रस्ताव राखेकोमा चिनियाँ प्रतिनिधि टोलीले सहमति दिन देखिएको छ । 

नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो, त्यसलाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसिरहेको छ ।

प्रोटोकल टुंग्याउन यसअघि २ वटा बैठक चीनमा भइसकेको छ । 

पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने दोस्रो बैठक गत जुनमा चीनमै भएको थियो ।

तेस्रो बैठक भने काठमाडौंमा जारी छ । बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले  गरेका छन् । त्यस्तै चीनको तर्फबाट यातायात विभागमा महानिर्देशक वाङ सिपिङले बैठकको नेतृत्व गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?