११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

लोकपथ
35
Shares

काठमाडौं । मुलुकको वैदेशिक व्यापार घाटा बढेको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आवको ११ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । चालू आवको ११ महिनामा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ७३ अर्ब २६ करोड बराबरको रहेको देखिएको छ ।

यसैगरी, चालू आवको ११ महिनामा कुल वस्तु निर्यात भने ५३ दशमलव तीन प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले बढेपनि चीनतर्फको निर्यात भने २१.४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार चालु आवको पछिल्लो अवधिमा कुल वस्तु आयात भने २७.५ प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव सात प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव दुई प्रतिशत, १६ प्रतिशत र ४६ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट् स लगायतका वस्तुको आयात बढेपनि एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?