नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

लोकपथ
52
Shares

काठमाडौं । रेमिट्यान्स आयमा पछिल्लो समय सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तनमा आर्थिक तथा वित्तीय स्थिती सम्बन्धि चालू आर्थिक वर्षको पछिल्लो ११ महिनाको अवधिमा बैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात रेमिटेन्स रकम तीन दशमलव आठ प्रतिशतले बढेर नौ खर्ब चार अर्ब १८ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव पाँच प्रतिशतले बढेको थियो । यसैगरी चालु आवको पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा दुई सय आठ दशमलव तीन प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२ दशमलव एक प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा खुद ट्रान्सफर तीन दशमलव छ प्रतिशतले वृद्धि भई एक हजार छ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?