भौतिक संरचनाको कारण ‘साग’ च्याम्पियनसिप प्रभावित हुँदैन : सदस्यसचिब विष्ट

पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता ‘साग’ प्रभावित नहुने बताएका छन् । 

खेलकूद पत्रकार मञ्च कास्कीद्वारा बुधवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सदस्यसचिब विष्टले ‘साग’लाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताए । 

पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामा समेत पाराग्लाइडिङका खेलाडीले इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद ‘एशियाड’मा पदक हासिल गर्न सफल भएको उनको भनाइ छ । 

आगामी नोभेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रिय पाराग्लाइडिङ च्याम्पियन प्रतियोगिता अन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख रुपैयाँ विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिए । 

उनले देशको गरिमासँग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । आगामी ‘साग’मा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि पाराग्लाइडिङ सहित ७ वटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ । 

‘साग’को तयारी स्वरुप हालसम्म पूर्वाधार निर्माणमा २ अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा १ अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रंगशाला निर्माणको प्रक्रिया अघि बढेको उनले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?