रहस्यमय बन्दै पूर्वराजदूत झा र निर्मला पन्तको हत्या घटना, के भन्छ प्रहरी स्रोत?

काठमाडौं । पूर्वराजदूत केशव झा र कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दिनप्रतिदिन झन् जटिल बन्दै गएको छ ।  

पूर्वराजदूत झाको भदौ ४ गते बिहान राजधानीको बबरमहलस्थित आफ्नै निवासमा र निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिकाको वडा नं. २ र १८ को सिमाना निम्बुखेडा खोलानजिकै रहेको उखुबारीमा शव फेला परेको थियो । 

पूर्वराजदूत झाको हत्या भएको आशंकामा प्रहरीले उनकै घरमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी अपराध महाशाखामा प्रहरी उपरीक्षक सोमेन्द्र राठौरको नेतृत्वमा खटेको अनुसन्धान टोलीले झा को हत्या नै भएको दावी गरेको छ । 

तर, झा हत्याको आशंकामा नियन्त्रणमा लिएका शंकास्पद ती तीनजना कामदारको पोलीग्राफ टेष्ट गर्दा ‘नेगेटिभ’ रिजल्ट आएको बताइएको छ । पोलीग्राम प्रविधिले झाको हत्यामा ती तीनजना कामदारको संलग्नता रहेको तथ्य पुष्टि गर्न नसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

पूर्वराजदूत झाको घरमा सुरक्षा गार्ड र मालीको रुपमा काम गर्दै आएका आइते तामाङ, कान्छा तामाङ र जगबहादुर गुरुङलाई स्वास्थ्य सुरक्षा तथा शारीरिक हित कसुर अन्तरगत मुद्धा अन्तर्गत अनुसन्धान भइरहेको छ । 

‘घटनाको प्रकृति हेर्दा ‘झा’ को हत्या नै भएको जस्तो देखिन्छ’, अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले भने, ‘अनुसन्धान भइरहेकाले अहिले थप विवरण दिन सक्ने अवस्था छैन, करीब यो १६ दिनको उपलब्धि शुन्य जस्तै छ ।’ 

झाको हत्या अनौठो किसिमले भएको छ, उनको घरको वरिपरि अग्लो पर्खाल छ, मूल गेटमा एकजना सुरक्षा गार्ड र कुकुर परिचालन गरिएको छ । अनुसन्धानमा संलग्न सुरक्षा अधिकारी भन्छन्, ‘अपराधि कहाँबाट छिरे भन्ने कुरा नै पत्तो लाग्न सकेको छैन ।’

पक्राउ अभियुक्तहरुको प्रविधि परिक्षणबाट पनि घटनाको कुनै तथ्य नखुल्नुले दिनप्रतिदिन रहस्मय बन्दै गएको हो ।

कतिपय सुरक्षाकर्मी झाको हत्या कि आत्महत्या भन्नेमा दोधारमै देखिन्छन् । ‘आत्महत्या भनौँ भने पनि किचनमा प्रयोग हुने चक्कुले क्षतविक्षत हुने गरी आफैले आफूलाई चक्कु प्रहार गर्न सक्ने अवस्थामा झा देखिँदैनन् ।

झा नियमित सुत्ने बेडमा हत्या गरी फालिएको अवस्थामा पछिल्लो बिहान उनकै श्रीमतीले फेला परेकी थिइन् । पक्राउ अभियुक्तहरुको प्रविधि परिक्षणबाट पनि घटनाको कुनै तथ्य नखुल्नुले दिनप्रतिदिन रहस्मय बन्दै गएको हो ।

त्यस्तै, कञ्चनपुर घटना पनि यस्तै अवस्थामा गुज्रिएको छ । बालिका निर्मला पन्तको हत्या घटनाको अनुसन्धान गर्न खटेको केन्द्रीय अनु्सन्धान ब्युरोको उच्चस्तरीय टोली पनि अन्यौलामा परेको छ । 
निर्मला हत्याको अभियोगमा पक्राउ परेका ३८ वर्षीय दिलिपसिंह विष्टको प्रविधि परिक्षण गर्दा अनुसन्धान प्रक्रियामा थप समस्या उत्पन्न भएको हो । स्रोतका अनुसार, विष्टको प्रविधि परिक्षण गर्दा संलग्नता पुष्टि हुन सकेन । 

त्यस्तै, पीडित परिवारको आन्दोलनपछि पक्राउ परेकी निर्मलाकी साथी भनिएकी रोशनी बम र उनकी दिदी बविता बमको पक्राउपछि पछि पनि तथ्य बाहिर आउन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले निर्मला हत्या घटनाको अनुसन्धान शून्यबाट शुरु गरेको जनाए पनि रिजल्ट पनि हात लाग्यो शून्य जस्तै भएको छ । प्रहरी अझै घटनाको तथ्यमा समेत पुग्न सकेको छैन । 

नेपाल प्रहरीका लागि मात्र नभई सरकारका लागि समेत चुनौती जस्तै बनेका यी दुई हत्या घटना अझै रहस्मय रहेका छन् । यी घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको उच्चस्तरीय अनुसन्धान अधिकृतको टोली नै परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?