तिब्बतबाट नेपाल भित्र्याइएको अवैध सुनसहित भारतीय नागरीक पक्राउ

काठमाडौं । तिब्बतबाट नेपाल भित्र्याइएको दुई किलो सुनसहित एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

चितवन पुतलीबजारस्थित एक घरमा डेरा गरि बस्ने भारत महाराष्ट्र साङ्ली जिल्लाका राजेन्द्र पाटिलले सञ्चालन गरेको गणेश सुनचाँदी पसलबाट प्रहरीले दुई किलो सुन र चार किलो चाँदीसहित १२ लाख रुपैयाँ बरामद गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय चितवन र प्रदेश नम्बर ३ क्षेत्रीय अनुसन्धान समूहले भरतपुर महानगरपालिका १ पुतलीबजारबाट मंगलबार मध्यराति सुन समातेको हो ।

‘तिब्बतबाट तस्करी गरी ल्याइएको सुन कारोबार भइरहेको विशेष सूचना आएपछि हामीले चेकजाँच गर्दा उक्त परिमाणको सुनचाँदी फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए । 

बरामद भएको सुन दुई किलो ७६ ग्राम, चाँदी चार किलो ६१७ ग्राम र नगद १२ लाख रुपैयाँ राजश्व अनुसन्धान विभाग पठाइएको नायब उपरीक्षक ढकालले जानकारी दिए । 

विगत १० वर्षदेखि नारायणगढमा सुन बिक्री वितरण र रिफाइनिङ गर्ने पाटिलले तिब्बती नागरिकले आफूलाई उक्त सुन ल्याइदिएको प्रहरीलाई बताएका छन् । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?