व्यापार तथा पारवहन सम्झौताको लागि नेपाल चीनबीच छलफल हुँदै

काठमाडौं । नेपाल चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि)लाई अन्तिम रुप दिन दुई देशका अधिकारीबीच छलफल हुने भएको छ । 

आज र भोली काठमाडौंको होटल सोल्टीमा हुने छलफलका लागि चिनियाँ प्रतिनिधि मण्डल मंगलबार नेपाल आइपुगेका थिए । 

चिनियाँ प्रतिनिधि मण्डलसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु नेतृत्वको नेपाली टोलीले बुधबार र बिहीवार दुई दिन छलफल गर्ने भएका छन् ।   

‘प्रोटोकलका सम्बन्धमा यसअघि ल्हासा र बेइजिङमा पनि छलफल भइसकेको छ । काठमाडौंमा हुने यो तेस्रो छलफल हो । केही विषयमा सहमती हुन नसकेको छैन । आशा गरौं यो पटकको छलफलले प्रोटोकल (कार्यविधि) टुंगिन्छ कि,’ सहसचिव सैंजुले भने ।

सहसचिव सैंजका अनुसार दुई देशबीच व्यापारका लागि प्रयोग हुने बन्दरगाह, रूट र मोडालिटीमा छलफल हुनेछ । यसअघिका छलफलमा बन्दरगाह र रूटमा चिनियाँ पक्ष सहमत भएका थिए ।

‘दुई देशबीच मोडालिटीमा भने थप छलफल गर्नुपर्ने देखिएको छ’ उनले भने, दुई वर्षअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता भएको थियो । तर, अहिलेसम्म त्यसको प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?