चितवनबाट समातियो दुई किलो सुन, काठमाडौंबाट नक्कली समातियो

चितवन– प्रहरीले आज अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको छ ।

नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट सो परिमाणको सुन र चाँदी बरामद गरिएको हो ।

नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो ।
यता महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।

यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?