साफ च्याम्पियनसिप: अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग पराजित

बंगलादेश । १२ औँ ‘साफ’ च्याम्पियनसिप अन्तर्गत नेपालले खराब प्रर्दशन गरेको छ । 

बंगबन्धु नेशनल स्टेडियममा मंगलवार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । अन्तिम समयमा नेपाली टिमले खेल सम्हाल्न नसक्दा जारी प्रतियोगितामा पहिलो हार बेहोरेको हो । 

शुरुवाती समयमा निक्कै आक्रामक खेल खेलेको नेपालले ३६ औँ मिनेटमा गोल खान पुग्यो । नेपालका कप्तान बिराज महर्जनले पाकिस्तानका खेलाडी फाउल गरेपछि पाकिस्तानले पेनाल्टी हान्ने मौका पायो । 

त्यो अबसरलाई पाकिस्तानका मोहम्मद रियाजले गोल गरे र खेललाई १-० को अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा नेपालका सुमन अर्यालको उत्कृष्ट हेडर बल पाकिस्तानका गोलकिपरले बचाउ गरे । 

दोस्रो हाफको शुरुवाती समयमा सुधारिएको खेल खेलेको नेपालले गोल गर्न भने सकेको थिएन् । तर, खेलको ८२ औं मिनेटमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । बिमलले खेलमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरे । 

प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा पाकिस्तानका मोहम्मद अलि डाबैसले गोल गरेपछि नेपाल स्तब्ध बनेको थियो । जितपछि पाकिस्तानले महत्वपूर्ण तीन अंक बटुलेको छ । 

अब नेपालले बिहिवार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ । साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि भने जित्न सकेको छैन् । 

समूह ‘ए’ मा रहेको नेपालसहित भुटान, पाकिस्तान र बंगलादेश रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?