सक्कली भनेर बरामद गरेको सुन नै नक्कली परेपछि……

काठमाडौं । सुन तस्करहरुले सक्कली भनेर बोकेर ल्याएको सुन प्रहरीले नक्कली बनाइ दिएपछि घटनाले अर्कै मोड लिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सुराकीको आधार नागढुङ्गाबाट आज विहान दुई किलो सुन सहित छ जनालाई पक्राउ गर्न सफल भएको थियो । 

तर, दिउँसो परिसर कार्यालय टेकुमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बरामद गरेको उक्त सुन नक्कली भएको जानकारी दिएका हुन । 

उक्त सुन बोकेर ग्राहकको प्रतिक्षा गरिरहेका धादिङ गंगा जमुनाका अभिषेक तामाङ सहितको टोली दुई किलो सुन विक्री गर्दा करीव दुई करोड प्राप्त हुने लोभमा थिए । केही ब्यक्ति अबैध सुन बोकेर ग्राहक खोज्दै हिडेको सुनेपछि परिसरबाट सुन सहित अभियुक्त पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन गरिएको थियो । सो टोलीले अबैध एक–एक किलो सुनको ‘दुईटा विस्कुट सहित छ जना पक्राउ गरेको २४ घण्टा नवित्दै सुन विक्री गर्ने तस्करहरुदेखि सुन बरामद गर्ने प्रहरी समेत हिस्स परेको छ । 

बरामद नक्कली सुन सहित नुवाकोट तारकेश्वरका राम तामाङ, धादिङ दार्खाका राज तामाङ, नुवाकोट कै जीतेन तामाङ, बीरेन्द्र तामाङ र राजकुमार तामाङ रहेका छन् । पक्राउ अभियुक्तहरुले नक्कली सुन सक्कली भनेर विक्री गर्न ग्राहक खोज्दै हिडेको बताएका छन् । उनीहरुलाई ठगी अन्तरगत मुद्धा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ ।

यसैबीच, प्रहरीले थानकोट गुर्जुधारास्थित रमीता श्रेष्ठको घरमा चोरी गरेको आरोपमा दहचोकका सुन्दर रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।  उनको साथबाट चोरी भएका गहना मंगलसुत्र, झुम्का, चन्द्र, सिक्री, मुद्रा लगायतका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । उनको घरमा केही दिन अघि चोरी भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?