भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिन्छ: अर्थमन्त्री खतिवडा

भद्रपुर । अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताएका छन् ।  आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका हुन् । 

बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको भन्दै उनले नेपालसँग विद्युत् किन्न बङ्गलादेश तयार छ तर भारत सरकारको सहयोग पनि आवश्यक रहेको उनले बताए ।  उनले भारत सरकारको सहयोग लिएर नेपालले तेस्रो देशलाई विद्युत् बेच्न सक्यो भने वस्तुको मात्र होइन यो नाकाबाट सेवाको व्यापार पनि गर्न सकिने बताएका छन् । 

मन्त्री डा खतिवडाले छिमेकी देश भारतसँग पनि यो नाकालाई सुचारु र समृद्ध बनाउनका लागि छलफल र वार्ता गर्ने बताए । 

मेची भन्सार कार्यालयको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयले साउन १ गतेदेखि स्तरोन्नति भई भन्सार कार्यालयको दर्जा पाएको हो । भद्रपुर भन्सार कार्यालय सञ्चालनमा आएसँगै झापामा दुईवटा भन्सार कार्यालय भएका छन् । 

कार्यक्रममा भारतको विहार र बङ्गाल राज्य, बङ्गालदेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिघा जमीनको आवश्यकता रहेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?