कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेन्डा ?

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बैठक बस्नेछ । कांग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ ।

नेता एनपी साउदको संयोजकत्वमा कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ । यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो । कांग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् । नेविसंघलगायत चार भ्रातृ संस्थामा केन्द्रीय समितिले दिएको अधिकारअनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै तोकेका छन् ।

केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिहेका छन् । कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ । उक्त बैठकमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे छलफल हुनेछ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ । यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन् ।

कांग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ । भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन् । यस्तै कांग्रेसले पाँच भ्रातृ तथा केही शुभेच्छुक संस्था थप गर्ने गृहकार्य पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?