काठमाडौं । घण्टौँको ट्राफिक जाम ।
हिलाम्मै र धुलाम्मै सडक ।
मेलम्चीको पानी ल्याउन भन्दै जथाभावी खनिएका सडक बेपर्वाह पसारो परेका छन् ।
गाडि त्यहि दबिन्छ /फस्छ अनि फेरि जाम ।
पोल गाड्ने /सार्ने भन्दै बाटोभरी बनाइएका खाल्डाखुल्डि पुरीएका छैनन् ।
सडकको छेउकुना मात्रै हो र ? बिचमा बनाईन्छ, बडेमानको खाल्डो अनि त्यतिकै छोडिन्छ ।
किन ?
कहाँ ?
कसरी ?
कस्लाई ?
कति दिनमा ? यी प्रश्नको जवाफ नागरिकलाई दिईदैन । उनीहरुलाई सिर्फ ‘के’ पनि राम्ररी थाहा हुँदैन । ‘के’ अर्थात् सडकमा के भएको हो भन्ने बारे । आजकाल सडक हिँडिसाध्यै छैन । अस्तव्यस्त छ । लथालिंग छ । भत्किएको छ ।
त्यसैले हिजोआज एउटा कथन बनेको छ, पानी पर्दा हिलाम्मै धाम लाग्दा धुलाम्मै उर्फ राजधानीका सडक ।
राजधानीका सडकमा कहिले खोला दौडिन्छ । कहिले कुईरीमण्डल धुलो उड्छ ।
फेरिपनी यो हामीलाई ‘सामान्य’ लागेको छ ।
धेरै पनि गर्नुपर्दैन । काठमाडौँ महानगरलाई एक फन्को लगाउनुभयो भने तपाईले थाहा पाउनुहुनेछ काठमाडौँ कति लथालिंग छ, कति भताभुङ्ग छ ।
भद्रगोलको अनुपम उदाहरण ।
राजधानीको खोल ओडेर शहरले कति विकृति पाटोहरुलाई अंगालेको छ ।
लापरबाहीको हद : अनुमानको भरमा रोडक्रस
‘सडकमा जेब्रा क्रसिङ पटक्कै देखिदैन ।
अझ रातको समयमा बाटो काट्न यति हम्मेहम्मे पर्छ कतिबेला सवारीले ठक्कर दिन्छ भन्ने त्रासमा छन् आम नागरिक ।
करको नाममा सरकारले हरेक सवारी धनीबाट विभिन्न शिर्षकमा पैसा असुल्छ । दिन गनेर ।
किटान गरिएको मितीभन्दा थोरैपनि ढिला भयो भने बाटोमा ट्राफिकले राम्रो रकम जरिवाना तिराउँछ । तर सवारी हिड्नको लागि सहज बाटो छैन ।
पैदलयात्रु हिड्नको लागि फूटपाथ पनि छैन ।
चुनावको बेला विभिन्न नारा सडकमा साइकल गुडाउन सकिने, मास्कमुक्त बनाउने, सफा सहर हेर्न पाउने, स्वास्थ्यसँग जोडिएको विषयमा गम्भिर चिन्तन गर्ने भनेका राजनीतिक दलहरु कता मुन्टो फर्काएर हिड्छन् कुन्नी ? सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको गुनासो हो यो ।
***
अड्कलको भरमा बाटो काटेर वारी तरेपछि राममाया घलेले आक्रोश पोखिन्, मन्त्रीका आँखाले सडकका खाल्डा, फूटपाथको अभाव, अकाशेपुल नभएको, जेब्राक्रसिङ मेटिएको, ट्राफिक लाईट बिग्रिएको देख्दैनन् कि क्या हो ? चस्मा त ला’को देख्छु त ।
अड्कलको भरमा वीर अस्पतालबाट बसपार्क आएकी कान्छिमाया आले लोकपथसँग पोखिईन् ।
‘काम गर्दा कहाँ जान्छ कहाँ जनता कर तिरेको तिरै । मैले क्रसिङको भेउ पाईन ।’
यात्रुहरुको गुनासो छ, १÷डेढ किलोमिटर हिँडेर पनि जेब्राक्रसिङ गर्ने ठाउँ चिनिदैन ।
यस्तो बिजोग अवस्थाको बिचमा समाचार सुनिन्छ – जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने ।
अनि यात्रुहरु थप आक्रोशित हुन्छन् ।
जेब्रा क्रसिङ भएपो बाटो काट्नु ।
आकाशे पुल पाकेटमार र माग्नेहरुको अखडा छ । त्यसमाथि पर्याप्त स्थानमा आकाशे पुल छैन । अब के गर्ने ? यात्रुहरु अलमल्ल अवस्थामा पुगेका छन् ।
***
सन् १९४८ मा बेलायतले जेब्राक्रसिङको प्रयोग गरेको थियो । तर २१ औँ शताब्दीको संघारमा आएर नेपालको राजधानी काठमाडौँमा जेब्राक्रसिङको रङ पुछियो भन्दै बिलौना गर्नुपरेको छ ।
नेपालमा आकाशे पुलको अपर्याप्तताको कारण ट्राफिक प्रहरी बस्ने ठाउँबाट मात्रै बाटो काट्न सजिलो छ । ट्राफिक प्रहरी सल्लाह दिन्छ बाटो काट्दा यात्रुले होसियारी अपनाउनुपर्छ ।
बाटो काट्नलाई जेब्रा क्रसिङ छैन, नत हिँड्नलाई फुटपाथ छ । कसरी अपनाउने साबधानी ? प्रतिप्रशन आईहाल्छ सर्वसाधारणले ‘मोटरसाईकल चालकहरु गुनासो गर्छन् ।
हामीले तिरेको करले हामी हिड्ने बाटो बन्नुपर्यो’ सडकमा कुनै पनि पूर्वाधार राम्रोसँग काम गर्ने किसीमका छैनन् । सडकको ट्राफिक लाईटको अवस्था त्यस्तै छ । वर्षौ भईसक्यो लाईटहरु सिग्नल देखाइरहेका छैनन् । कुनै रातो मात्रै बल्छन् । कुनै हरियो मात्रै । कुनै वर्षौदेखि निभेको निभ्यै छन् ।
पुतलीसडक चोकमा वर्षौदेखि ट्राफिक लाईट बिग्रेको छ । तर ‘अन मोड’ मा छ । अर्थात् ट्राफिक गो भन्छ । बत्ति स्टप ।
पुतलीसडक हुँदै सधै हुईकिनेलाई त्यो बत्तिको बारेमा थाहा होला । तर नयाँ चालक बत्तिकै सहारामा हुँईकियो भने ?
दुर्घटना हुन सक्छ ।
यो वा त्यो बहानामा जहिल्यै आलटाल गरेका कारणले कतिदिन विकास निर्माणका कामहरु अल्मलिरहने ?
१४ स्थानका ती लाईटहरु मर्मत सम्भार गर्न कसैको ध्यान गएको छैन । केहि दिन अघिमात्रै काठमाडौँ उपत्यकाका सबै ट्राफिक लाइट बिग्रिएको ५ वर्षपछि ट्राफिक लाइटको विस्तृत अध्ययन प्रतिवेदन सडक विभागले तयार गरेको छ ।
१४ स्थानमा जडान गरिने ति लाईटको विभागले डीपीआर तयार गरेको हो ।
उपत्यकाका विभिन्न ३५ स्थानमा ट्राफिक लाइट छन् । तर अधिकाशं बिग्रीएको अवस्थामा ।
ट्राफिक लाईट नभएकै कारण दिउँसो भरीको धुलो खाएर काठमाडौँ उपत्यकामा मात्रै १ हजार २ सय ट्राफिकले सवारी व्यवस्थापन गर्दै आएका छन् ।
ट्राफिक प्रहरीसँग ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड मात्रै छन् ।
त्यसैको ईशारामा सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ, उनीहरुलाई ।
काठमाडौँ उपत्यकामा ९ वटा आकाशे पुल छन् ।
रत्नपार्कमा एउटा सव वे चालु छन् ।
केहि आकाशे पुल जिर्ण छन् ।
केहि व्यापारीको अखडा बनेका ।
सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क भोटाहिटी जमल रत्नपार्क बागबजार, पुरानो बसपार्क, भद्रकाली, नयाँ बसपार्क, कोटेश्वरमा आकाशे पुल चालु छन् ।
यद्यपी पुल नभएका स्थानमा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।
भिडियोमा हेर्नुहोस् पुतलीसडकको बर्षौदेखि बिग्रेको ट्राफिक लाइटः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया