बिम्सटेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा आशंका छ, प्रधानमन्त्रीसँग जवाफ माग्छौँ : डा. रिजाल

काठमाडौं ।  नेपाली कांग्रेसले बिम्सटेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ । 

कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताएका हुन् । साक्षात्कार कार्यक्रममा नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताए । 

आर्थिक र प्राविधक सहयोगका लागि गठन भएको विमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्यो भनेर रिजालले प्रश्नसमेत गरे । सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्विकार गर्न नसकिने चेतावनी रिजालले दिएका छन् । 

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३० र ३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् । साक्षात्कारमा नेता रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिरसमेत गरेका छन् । “सरकार सफल हुने बाटोमा छैन । चुनौतिका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस् ।” रिजालले भने । 

दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको रिजालको तर्क थियो । विकास निर्माण र समृद्धिको क्षेत्रमा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको रिजालको दावी छ । सरकारले अदालत, संवैधानिक निकाय, प्रेस, चिकित्सा क्षेत्र लगायतमा अंकूश लगाउन खोजेको रिजालको तर्क छ । 

रिजालले पछिल्लो समय कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गरेको दावीसमेत गरे । “संसदमा १ चौथाई पनि संख्या नभएको कांग्रेसले जति भूमिका खेल्नुपथ्र्यो त्योभन्दा बढि खेलेको छ । तर सरकार गम्भीर बन्न सकेको छैन ।” उनले भने । सरकारले विकास र समृद्धिको बाटा समातेको खण्डमा कांग्रेसले सहयोग गर्ने रिजालको भनाई थियो । 

नेता रिजालले पछिल्लो समय देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाप्रति सरकार गम्भीर नभएको अरोप लगाए । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले लामो समयसम्म पक्राउ नगरेर संरक्षण दिएको जिकिर गरे । 

“कञ्चनपुर घटनामा सरकारको भूमिका कहालीलाग्दो छ । समाजलाई सुरक्षित बनाउने कामभन्दा पनि बलात्कारीलाई संरक्षण गर्नेतिर सरकार केन्द्रित भएको छ । दोषी लुकाउने प्रयास नगरियोस् ।” रिजालले भने ।  बलात्कारका घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा सजायँ दिलाउन उनले सरकारको ध्यानाकर्षणसमेत गराए । 

नेता रिजालले मुलुकी ऐनमा भएका केही विषयलाई संशोधन गर्न सकिने बताएका छन् । गल्ती सच्याउनुपर्ने भन्दै उनले यसका लागि सरकार तयार हुनुपर्ने बताए । संविधानसँग बाझिएका कुरा अदालतले स्वतः खारेज गर्ने भएकाले बेलैमा संशोधन गरेर संविधानसँग नबाझिने गरी ऐन कार्यान्वयन सहज बनाउनुपर्ने उनको सुझाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?