काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा ११ औँ अधिवेशन आजबाट सकिएको छ । असार ५ गतेबाट सुरु भएको अधिवेशनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आर्थिक बर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । यो प्रस्ताव असार ८ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मतिमा पारित गरेको थियो ।
असार १० गते सम्पन्न सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी थिइन् । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेश गरेका थिए ।
यसरी पेश गरिएको बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज (२४) गते बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आजको बैठकले आर्थिक बर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित गर्यो । सभा पेश भएको आर्थिक विधेयक असार १७ गते बसेको चौथो बैठकबाट पारित भएको थियो ।
यसरी पारित भएको नीति, बजेट तथा कार्यक्रमले आगामी बर्षमा महानगरका गतिविधिहरु थप संस्थागत हुँदै जाने बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाहले विश्वाश व्यक्त गरे । ‘सभामा पेश भएका सबै प्रस्तावहरु माथि सौहाद्र छलफल भयो । सर्वसम्मत पारित भयो । बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न नीतिगत र कानुनी व्यवस्था सम्बन्धी निर्णय भयो ।’ प्रमुख शाहले भने ।
बैठकको सहभागिता र छलफल सकारात्मक र उर्जा दिने खालको रह्यो । अधिवेशनका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख एवं बैठकका उपाध्यक्ष सुनिता डंगोलले भनिन्, ‘मागका रुपमा आएका विषय लिखित रुपमा आएका छन् । यसले संस्थागत आचरणलाई टेवा पुर्याउँछ ।’
आजै न्यायिक समितिका सदस्यहरुको पद तथा गोपनीयताको शपथ सम्पन्न भएको छ । आज नै सम्पन्न भएको निर्वाचनबाट वडा २९ का अध्यक्ष कुश ढकाल र वडा ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियार निर्विरोध निर्वाचित भए । उनीहरुलाई महानगरका प्रमुख शाहले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपालको संविधानको धारा २१७ मा स्थानीय विवादको समाधान गर्न ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । जसमध्ये उपप्रमुख संयोजक हुने र बाँकी २ जना नगर सभा सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । अधिवेशनको पाँचौ अधिवेशनबाट महानगरका निर्देशक दिपक अधिकारीलाई निर्वाचन अधिकृत तोकेको थियो ।
आज भवन मापदण्ड २०७५ मा केही संशोधन गरिएको छ । महानगरमा पार्किङ्का लागि छुट्टै नीति नभएकोले पार्किङ्लाई व्यवस्थापनलाई सहज बनाउन गर्न मापदण्डमा केही संशोधन गरिएको हो । मापदण्डअनुसार बहुतले पार्किङ्को फ्लोर एरिया रेसियो (फार)लाई ४ कायम गरिएको छ । सेडव्याक छोडेर बाँकी सबै जमिनमा निर्माण कार्य गर्न पाइनेछ । मेकानिकल र स्टिल स्ट्रक्चरमा थप १ फार उपलब्ध हुनेछ । यो मापदण्ड स्मारक क्षेत्रमा भने लागु हुनेछैन । संशोधनअनुसार महानगर आफैँले चार किल्ला तोकेर सम्पदा क्षेत्र बनाउन सक्ने त्यसका लागि छुट्टै मापदण्ड बनाउन सक्ने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया