गौराको रौनक यस्तो देखियो टुँडिखेल (फोटो फिचर)

सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो गौरा ।

गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पाइन्छ ।

उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । 
यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्ति ऋषिको उदय हुने भएकाले कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ । “यस वर्ष अगस्ति ऋषिको उदय भदौ १९ गते मङ्गलबार नवमी तिथिका दिन बिहान ४ बजेर ६ मिनेटमा हुने भएकाले भाद्र शुक्ल अष्टमीका दिनमा गौरापर्व मनाउन मिल्दैन, यसैले भाद्र कृष्ण अष्टमीकै दिन मनाउने गर्छन् ।”

मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गौरा एवं दुर्वाष्टमी पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउनुपर्छ । सोमबार दिउँसा ३ बजेर ३१ मिनेटसम्म अष्टमी तिथि रहेको समितिले जनाएको छ । 

कञ्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने ‘मानसखण्ड’, ‘निर्णयसिन्धु’, ‘हेमाद्रि’लगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा गायक नन्दकृष्ण जोशीले जानकारी दिए । 

गौरापूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा गायक जोशीले बताए । 

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्न नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । “यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेँडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ ।” 

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने धार्मिक परम्परा पनि छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । 

देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । 


यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ ‘हेमाद्रि’मा उल्लेख छ । 

यो दिनमा सुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् । यस पर्वको उपलक्ष्यमा प्रदेश नं ७ सरकारले आज प्रदेशभर बिदा दिएको छ ।

फोटो : सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?