बाँकी पुरस्कार राशी नपाए बंगबन्धु गोल्डकप खेल्दैनौं : ‘एन्फा’ प्रवक्ता राई

काठमाडौं । बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार राशी अहिलेसम्म नेपालले पाउन सकेको छैन । 

नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो ।

उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौ  संस्करणको खेल तालिका सार्वजनिक गरिँदा समेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ प्रवक्ता किरण राईले जानकारी दिए । 

‘अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ ।’ उनले भने ।

त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

बंगलादेश फुटबल महासंंघले गएको शनिबार पाँचौ  संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ । पाँचौ  संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बंगलादेशको राजधानी ढाकामा हुनेछ । 

शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?