सरकार र चिकित्सक संघबीच वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र चिकित्सक संघबीच आज बसेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । 

सोमबार स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र गरिसकेकोले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । 

चिकित्सकहरुले भने सरकारलाई १५ दिने समय दिएको थियो । तर, उक्त समयमा कुनै निर्णय नआएको कारण आन्दोलनमा जानु परेको चिकित्सकहरुले बताए । साथै आन्दोलित चिकित्सकहरुले आफ्नो मागको सम्बोधन भएमात्र आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने बताए । 

त्यस्तै पत्रकारसँग कुरा गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले माग पूरा हुने भरपर्दो आधार तयार नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।

चिकित्सकहरुले आन्दोलनका कार्यक्रम अनुसार संघले आज पनि देशभरका स्वास्थ्य संस्थाको प्रशासन ठप्प पारेको थियो । 

भदौ १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित जारी राखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?