बन्द अस्पतालहरु पुनः सञ्चालन गर्न जनसंख्या मन्त्रालयको आग्रह

काठमाडौं । आइतबारदेखि आन्दोलनरत चिकित्सकहरुले काठमाडौं उपत्यकासहित देशभरको आकस्मिक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्दोलनरत चिकित्सकहरुले उठाएको माग प्रति मन्त्रालय सकारात्मक रहेको मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले यो मौसममा प्राकृतिक प्रकोप, बाढीपहिरो, सरुवा तथा संक्रमित रोगहरुले प्रभावित पार्ने भएको हुँदा बन्द अस्पतालहरु चाँडै सञ्चालन हुनुपर्ने बताए । 

साथै उनले आन्दोलनरत सबै स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा काम काज शुरु गर्न अनुरोध गरे । ‘सबै स्वास्थ्यकर्मीहरुलाई बिदामा नबस्न, बिना अनूमति स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनैपनि किसिमका बन्दहड्ताल, घेराउ, प्रदर्श जस्ता कार्यहरु नगर्न मेरो अनुरोध छ’ उनले भने ।

उपसचिव खनालले माथि उल्लेखित क्रियाकलापहरु गरेको पाइएमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक कारबाही गर्ने चेतावनी पनि दिए । उनले भने, ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आदेशको बुँदा नं. १२ र १३ मा अस्पताल तथा स्वास्थय केन्द्र सञ्चालन सम्बन्धि सेवा (एम्बुलेन्स सेवा), औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धि सेवा समेतमा असर पर्ने भएकोले सोही ऐनको दफा ४ बमोजिम कारबाही हुने छ ।’ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?