१८ औँ इन्डोनेशिया ‘एशियाड’ सम्पन्न, चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचा

जाकर्ता । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८ औँ एशियाली खेलकुद ‘एशियाड’को समापन भएको छ । 

इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औँ एशियाली खेलकुदको एक भव्य समारोहबीच सम्पन्न भएको हो । 

आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनले आफ्नो शानदार प्रस्तुती दिएका थिए । त्यस्तै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । 
इन्डोनेशियन कलाकारहरु इसीयाना सरास्भाती, बुङगा सित्रा लेस्तारी, लिया सिभाजुथाङ, डेनाडा, डिरा सुगान्डी, जेफ्लो र अफगानले आफ्नो प्रस्तुतीमार्फत भरपुर मनोरञ्जन दिएका थिए ।

समापन समारोहमा एशियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, अतिथि, पत्रकार र दर्शक गरी ५५ हजार उपस्थित थिए । त्यस्तै समारोहमा इन्डोनेशियाको संस्कृति झल्कने भेषभूषामा स्थानीय खेलाडी, अफिसियल र दर्शक उपस्थित भएका थिए ।

सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए । नेपालको तर्फबाट टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले झन्डा बोकेकी थिइन् । 

गत १८ अगस्टदेखि आइतबारसम्म इन्डोनेशियको जाकार्ता र पालेङबाङमा चलेको एशियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको एशियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो । चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो । पदक तालिकाको दोस्रो स्थानमा जापान रह्यो । जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्यो । 

दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो। चौथो स्थानमा आयोजक इन्डोनेशिया रह्यो । उसले  ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पार्यो । 

नेपालले भने एक रजत पदक मात्र जित्न सक्यो । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जितेको हो । यसअघिका एशियाली खेलकुदमा नेपालका लागि पदक जित्दै आएका तेक्वान्दो, कराते र बक्सिङ यसपटक पदकविहीन रहे । नेपाल १२ औं दिनसम्म पदकविहीन बन्नु परेको थियो । यसपटक देखि समावेश गरिएको प्याराग्लाइडिङबाट रजत जित्दा नेपालले २० वर्षपछि दोस्रो रजत जितेको हो । 

सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । एक रजत जितेकाले नेपाल पदक तालिकाको ३३ औँ स्थानमा रह्यो । ८ देशले पदक जित्न सकेनन् । सार्क राष्ट्रमा भारतले १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी जम्मा ६९ पदक जित्न सफल भयो । भारत पदक तालिकाको आठौँ स्थानमा रह्यो । एशियाली खेलकुदमा यो भारतको सबैभन्दा राम्रो प्रदर्शन हो । पाकिस्तानले ४ कास्य जित्दा अफगानिस्तानले २ कास्य जित्यो । अन्य सार्क देश श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले पदक जित्न सकेनन् । 

समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एशियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?