वन्यजन्तु पीडितले पाए १६ लाखभन्दा बढी राहात

लोकपथ
91
Shares

लमजुङ । पछिल्लो १० वर्षमा लमजुङमा वन्यजन्तुबाट पीडित भएकाहरूले १६ लाखभन्दा बढी राहत रकम पाएका छन् । वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्यालय लमजुङले सम्बन्धित व्यक्तिहरूलाई सो रकम राहत उपलब्ध गराएको हो ।

कार्यालयले आर्थिक वर्ष ०६९/७० देखि चालू आर्थिक वर्ष ०७८/७९ सम्मको अवधिमा १६ लाख चार सय २६ रुपैयाँ राहत रकम वितरण गरेको जनाएको हो ।

कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधिमा वन्यजन्तुका आक्रमणबाट पशुधन क्षति भएका पीडित परिवारलाई १२ लाख ९७ हजार तीन सय ७५ रुपैयाँ राहत वितरण गरेको छ भने मानवीय क्षतितर्फ तीन लाख तीन हजार ५१ रुपैयाँ राहात उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७१/७२ बाहेक सबै वर्षमा वन्यजन्तुले पशुधनमा क्षति पुर्‍याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७३/७४ र आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म जिल्लामा वन्यजन्तुबाट कुनै पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार आव ०६९/७० मा जिल्लामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ पीडितहरूलाई राहात उपलब्ध गराईएको तथ्यांक छ । त्यसैगरी ०७०/७१मा एक लाख ३६ हजार चारसय ५१ रुपैयाँ, आव ०७१/७२ मा १७ हजार नौ सय ५० रुपैयाँ, ०७२/७३ मा २१ हजार सात सय ५५ रुपैयाँ र ०७३/७४ मा १० हजार रुपैयाँ राहत वितरण गरेको छ ।

यसैगरी, आर्थिक वर्ष ०७४/७५ मा एक लाख १० हजार, आव ०७५/७६ मा एक लाख ११ हजार ७० रुपैयाँ, आव ०७६/७७ मा एक लाख ४० हजार र आव ०७७/७८ मा तीन लाख एक हजार आठ सय रुपैयाँ राहात वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार पछिल्लो १० वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट एक सय ४१ पशुधन क्षति हुन पुगेको छ भने १५ जना मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ ।

पशुधन क्षतिअन्तर्गत एक सय ३० भेडारबाख्रा, पाँच वटा गाईरगोरु र सात वटा राँगारभैसी वन्यजन्तुको आक्रमणमा परेका छन् । डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–०६९ (तेश्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहात वितरण गरेको हो ।

कानुन बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीडितहरूको राहातका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा पायक पर्ने संरक्षण क्षेत्रमार्फत राहत उपलब्ध गराउने प्रावधान छ । सोही अनुरुप लमजुङका वन्यजन्तु पीडितहरूलाई एक्यापमार्फत राहात रकम आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?