नेपालीहरुको खर्च गर्ने प्रवृत्ति बढ्दो : सौन्दर्यमै खर्चिन्छन् अर्बौँ रुपैयाँ, नक्कली परेलादेखि कपालसम्म भित्रिन्छ  

लोकपथ
78
Shares

काठमाडौं । नेपालीहरुले हरेक कुरामा सौखिन छन् । विलासिता र अत्यावश्यक बाहेकका चिजमा पनि उनीहरु अर्बौँ खर्च गरिरहेका छन् ।

सौन्दर्य लागि पनि नेपालीहरुले अर्बौँ खर्च गर्ने गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांक हेर्ने हो भने शृंगारका सामग्री खरिदका लागि नेपालबाट अर्बौ रकम बाहिरिएको छ ।

नेपालमा वर्षेनी विभिन्न देशबाट शृंगारका सामग्री आउने गरेको छ । अनुहारमा लगाउने क्रिम, स्याम्पु, परफ्युम, नक्कली कपाल, नक्कली नङदेखि नक्कली परेलासम्म भित्रने गरेको छ ।

नेपालीहरुले अनुहारमा लगाउने क्रिम, लिपिस्टिक, बडीलोसन, नेल पोलिस, कपालमा लगाउने तेललगायतका सामग्री खरिदका लागि धेरै खर्च गर्नेगरेको विभागको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विभिन्न देशबाट ६४ करोड ८३ लाख ५५ हजार रुपैयाँको अनुहारमा लगाउने क्रीम नेपाल भित्रिएको छ । नेपालमा भारत, चिन, कोरियालगायत देशबाट अनुहारमा लगाउने क्रिम भित्रने गरेको छ ।

११ महिनाको अवधिमा स्याम्पु मात्रै एक अर्बभन्दा बढी भित्रिएको भन्सार विभागले जनाएको छ ।  सो अवधिमा एक अर्ब ८ करोड १० लाख ५४ हजार रुपैयाँको स्यापू आयात गरिएको छ ।

यस अवधिमा ७० करोड ९४ लाख ७३ हजार रुपैयाँको कपालमा लगाउने तेल आयात भएको छ भने १४ करोड ५ लाख ५४ हजार रुपैयाँको हेयर कन्डिसनर नेपाल भित्रिएको छ ।

जेठ मसान्तसम्म ६ करोड १७ लाख ६६ हजार रुपैयाँको कपालमा लगाउने क्रीम भित्रिंदा ५० करोड ५१ लाख २९ हजार रुपैयाँको कपालमा लगाउने कलर भित्रिएको विभागले जनाएको छ ।

त्यस्तै, ४३ करोड ५७ लाख ५२ हजार रुपैयाँको बडी लोसन, ५ करोड ९ लाख २३ हजार नेल पालिस आयात गरिएको छ ।

११ महिनामा ११ करोड १० लाख ५९ रुपैयाँको नक्कली दारी, आँखी भौँ र परेला भित्रिएको विभागको तथ्यांक छ ।

३० करोड ८३ लाख ५१ हजारको ओठको मेकअपका लागि चाहिने सामग्री भित्रिFदा २२ करोड ८१ लाख ९७ हजार रुपैयाँको आँखाको मेकअपका लागि चाहिने सामग्री भित्रिएको छ ।

त्यस्तै २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँको अन्य सौन्दर्यका सामाग्रीहरु आयात गरेको छ ।

अन्य देशबाट अर्बौको सौन्दर्य सामग्री आयात गरे पनि नेपालबाट भने एकदमै थोरै मात्र सौन्दर्यका सामग्री बाहिरिने गरेको छ । सौन्दर्यका लागि नेपालीहरु महँगो खर्च गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?