काठमाडौं र हेटौडासँगै चितवन पनि हैजा संक्रमणको उच्च जोखिममा

लोकपथ
13
Shares

काठमाडौं । काठमाडौंसँगै हैजाको संक्रमण हेटौँडा समेत देखिएपछि चितवनमा यसको जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ । सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौडामा हैजाको संक्रमण देखिएसंगै चितवन समेत उच्च जोखिममा परेपछि खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

यी दुवै ठाउँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको शहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुदा यहाको पानीमा जुनसुकै बेला प्रदुषण हुनसक्ने उच्च जोखिम छ ।

यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा.प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिए । उनको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उनले सुझाव दिए । पौडेलले भने, ’ पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।’ हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उनले बताए । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

लगातार पातलो चौलानीपानी जस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उनले सुझाए ।

सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उनले बताए । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उनले जानकारी दिए ।

दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?