१८ औँ ‘एशियाड’ सम्पन्न, नेपाल एक रजत पदकमा सिमित

जाकार्ता । मिनी ओलम्पिक्सले परिचित १८ औँ एशियाली खेलकुद ‘एशियाड’को सम्पूर्ण खेलहरु सकिएको छ । 

एशियाका ४५ राष्ट्रले ४० खेलका विभिन्न ४ सय ६५ विधिमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यसपटक नेपालले ‘एशियाड’ इतिहासमा सबैभन्दा धेरै २९ खेलमा सहभागिता जनाएको थियो । जस अन्तर्गत नेपालले प्याराग्लाइडिङको क्रश कन्ट्री विधामा रजत पदक जितेको थियो ।

तेक्वान्दोकी सविता राजभण्डारीले बनाएको सो रेकर्ड २० वर्षपछि प्याराग्लाइडिङले तोडेको हो । 

पदकको आशा गरिएको मार्सल आर्टभित्रको तेक्वान्दो, बक्सिङ र कराँतेले कुनै पदक जित्न सकेनन् । ‘एशियाड’ इतिहासको १८ औँ संस्करणसम्म आइपुग्दा नेपालले पदक संख्या २४ पुर्‍याएको छ ।  एशियाली खेलकुदमा नेपालका १ सय ८७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

 ‘एशियाड’मा प्याराग्लाइडिङले पहिलो सहभागितामा नै पदक जितेको हो । १५ दिन चलेको ‘एशियाड’ मा एशियाका ४५ मुलुकका करिव १० हजार भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए । 

सहभागी ४५ मुलुकमध्ये ३७ मुलुकले पदक जित्न सके भने बाँकी ८ राष्ट्र पदकविहिन बन्यो । चीनले ‘एशियाड’मा सबैभन्दा धेरै पदक जितेको छ । 

१ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २ सय ८९ पदक जित्दै चीन पहिलो स्थानमा रहन सफल भयो ।

दोस्रो स्थानमा रहेको जापानले  ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरि २सय ५ पदक जित्यो । दक्षिण कोरिया र इण्डोनेसिया क्रमसः तेस्रो र चौथो भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?