सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन : सांसद पोखरेल

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताएका छन् । उनले भने, ‘चिकित्सकहरु आन्दोलन छोडेर वार्तामा आउनुपर्छ । उनीहरुको समस्या सुल्झाउन सरकार र सदन दुवै तयार छ ।’

सांसद पोखरेलले मान्छेको जीवन रक्षा गर्ने चिकित्सकहरुप्रति सरकारले पूर्वाग्रही रुपमा नहेर्ने बताए । उनले भने, ‘यदि कानूनमा केही सुधार गर्नुपर्ने छ भने हामी तयार छौं ।’ आजमात्रै कानूनमन्त्रीले चिकित्सकहरुको माग सम्बोधनको लागि विद्यायन समितिलाई पत्र पठाएको पनि उनले जनाए । 

उपचारमा डाक्टरहरुले लापरवाही वा हेलचेक्र्याँई गरेको भनेर छुट्याउने को हो ? भनि चिकित्सकहरुले अघि सारेको तर्कमा आफूहरुपनि सहमत रहेको उनले बताए । उनले भने, ‘उपचारमा लापरवाही वा हेलचेक्र्याँई भएको वा नभएको भनेर छुट्याउनको लािग चिकित्सकहरुले भनेबमोजिम समिति गठन गर्न सरकार तयार छ ।’ 

उनले कानून संशोधन गर्नको लागि एकाध महिना लाग्ने भएकोले चिकित्सकहरुले तुरुन्त आन्दोलन फिर्ता गरि विरामीलाई सेवा दिनुपर्ने बताए । उनले भने,‘आन्दोलनबाट समस्याको समाधान खोज्न जरुरी छैन् ।’ उनले वर्तमान सरकारलाई असफल पार्ने नियतका साथ चिकित्सकहरुको आन्दोलन भएको आरोप लगाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?