नेपाल राष्ट्र बैंकमा तोडफोड, १२ जना पक्राउ

जनकपुर । प्रदेश २ को जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकमा तोडफोड भएको छ । 

आइतबार प्रदेश २ सरकारले श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा दिएको बिदाको अवज्ञा गरेको भन्दै राष्ट्र बैंकमा तोडफोड भएको हो । आइतबार दिउँसो बैंकभित्र पसेर तोडफोड गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले जानकारी दिए । 

बैंकमा तोडफोड गरेकालाई पक्राउ गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव नेपाल राष्ट्र बैंक अगाडि धर्ना बसेका छन् । 

संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंकलगायत बैंक तथा वित्तीय संस्था, जिल्ला प्रशासन, अदालत लगायतका कार्यालयले प्रदेश सरकारको बिदा मान्ने गरेका छैनन् । 

यसअघि भदौ १० गते जनैपूर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले दिएको सार्वजनिक बिदा राष्ट्र बैंकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयंले तालाबन्दी गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?