काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन । ११ बजे बैठक बस्न नसकेपछि दिउँसो २ बजेका लागि बैठक सारिएको थियो । तर पौने १ घण्टा बित्दा पनि अझै बैठक बस्न सकेको छैन ।
एमालेसँग सभामुख अग्निप्रसाद सापकोटाले परामर्शमा रहेका कारण अझै बैठक सुरु हुन नसकेको संघीय संसद सचिवालयका एक कर्मचारीले लोकपथलाई जानकारी दिए । उनका अनुसार बिहान १० बजेभन्दा अघिबाटै सभामुख सापकोटा एमालेसँग परामर्शमा रहेका छन् ।
बजेट निर्माणका क्रममा नेकपा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएको खबर बाहिरिएसँगै संसदमा एमाले आक्रामक बनेको थियो । सो प्रकरणपछि जेठ १४ गते मध्यरातीको सिसिटिभि फुटेज सार्वजनिक गर्न माग गरिरहँदा अर्थमन्त्रालयले उक्त फुटेज डिलेट भएको भन्दै विज्ञप्ति निकालेको थियो ।
कार्यविधिमा मन्त्रालयको सिसिटिभि फुटेज कम्तिमा ३ महिना राख्नुपर्ने भए पनि १३ दिनमा डिलेट भएको खबर बाहिरिएपछि एमाले मात्र नभइ सरकारमा सामेल अन्य दलले समेत अर्थमन्त्रीको राजीनामा माग गरिरहेको छ । आज अर्थमन्त्रीले संसदमा बोल्ने कार्यक्रम रहे पनि एमालेले हंगामा गर्ने भएपछि सभामुखले परामर्श थालेका थिए ।
जारी छलफलमा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै संसदीय समिति बनाएर घटनाबारे छानबिनको माग गरेको ती कर्मचारीले लोकपथलाई बताए ।
‘छलफल निरन्तर जारी छ । विपक्षीले अर्थमन्त्रीको राजीनामासहित छानबिन समिति गठन गर्न माग गरिरहेको छ ।’ उनले लोकपथसँग भने, ‘एमालेले नमानेपछि संसदीय समिति गठनको गृहकार्य भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया