माइतीघरमा चिकित्सकहरुको विरोध प्रदर्शन, मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी

काठमाडौं । मुलुकी अपराध संहिताका कारण स्वास्थ्यसेवामा खटिन नै नसक्ने स्थिति आएको भन्दै नेपाल चिकित्सक संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएमा वा अंगभंग भएमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना गरिने व्यवस्था राखिएपछि डाक्टरहरू आन्दोलित भएका हुन् । 

डाक्टर र चिकित्सकलाई ज्यानमाराको दर्जा दिन खोजेको तर्क राख्दै नेपाल चिकित्सक संघले स्वास्थ्यसंस्थाहरू समेत बन्द गरेका छन् । चिकित्सक संघको आव्हानमा देशभरका चिकित्सकहरूले अहिले अस्पतालहरू बन्द गराएका छन् ।

सरकार चिकित्सकको माग प्रति सकरात्मक नभएको भन्दै संघले आज सांकेतिक विरोध गरेको हो । माइतीघर मण्डलाबाट शुरु भएको विरोध –याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो ।

त्यस्तै संघले आज नेपाल मेडिकल काउन्सिलमा ५ हजार भन्दा बढी लाइसेन्स बुझाउने कार्यक्रमसमेत रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?