काठमाडौं । यतिबेला बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुले करका दर हेरफेर प्रकरणबारे यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।
केही व्यापारिक घरानालाई सघाउ पुग्नेगरी करका दर हेरफेर गरिएको भन्ने तथ्य बाहिरिएपछि अर्थमन्त्रीदेखि सरकारको समेत चौतर्फी आलोचना भइरहेको हो ।
सो क्रममा नेपालको ठूलो व्यवसायीक घराना चौधरी ग्रुप लगायत व्यवसायिक घरानालाई फाइदा पुग्नेगरी करका दर चलाइएको भन्ने आरोपपछि चौधरी ग्रुपले त्यसबारे मुख खोलेको छ ।
करका दर हेरफेरमा चौधरी ग्रुपको समेत संलग्नता भएको आरोपपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले त्यसबारे आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै चौधरीले आफूहरुको कुनै पनि संलग्नता नभएको भन्दै सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । उनले आफूहरुलाई बजेट निर्माण कुनै चासोको विषय नभएको प्रष्ट पार्दै सो प्रकरणमा आफूहरुलाई आरोप लगाएको भन्दै गल्ती पुष्टि भएमा कारबाही भोग्न तयार रहेको समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।’
बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते मध्यराती पूर्व नासू र अन्य केहि व्यक्तिहरुलाई मन्त्रालयमा भित्र्याएर करका दर हेरफेर गर्न लगाएको भन्दै अर्थमन्त्रीको राजीनामा मागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया