भारतले सार्कको विकल्पमा बिम्सटेकलाई अगाडी ल्याउने प्रयत्न ग-यो : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतले सार्कलाई निस्कृय बनाउन खोजेको आरोप लगाएको छ । 

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रा सिंहले आइतबार विज्ञप्तिमा जारी गर्दै भारतले सार्कलाई निस्कृय बनाउन र सार्कको विकल्पमा बिम्सटेकलाई अगाडी ल्याउने प्रयत्न गरेको आरोप लगाए । 

भारतीय विस्तारवादले सार्कलाई आफ्नो विस्तारवादी उद्देश्य पूर्तिका लागि उपयोग गर्न नसकेपछि त्यसको विकल्पमा बिम्सटेकलाई लिएको उक्त विज्ञप्तिमा उल्लेख छ । 

‘एकातिर पाकिस्तान, अर्कातिर चीनका कारणले सार्कमाथि आफ्ना विस्तारवादी उद्देश्य पूरा गर्नु भारतलाई सम्भव भएन’, वक्तव्यमा लेखिएको छ, ‘त्यसैले तत्काल हुने भनिएको सार्कको सम्मेलनलाई हुन दिएन र त्यसको ठाउँमा बिम्सटेकलाई अगाडि बढाउने प्रयत्न गरिरहेको छ ।’

आफूसित प्रतिस्पर्धा गर्नसक्ने पाकिस्तान वा चीन जस्ता कुनै देश नभएकाले पनि विमस्टेकसित सम्बन्धित देशहरुमा आफ्नो प्रभाव बनाउन सक्ने भारतको आशा रहेको मसालको ठहर छ ।

अहिले सार्कको अध्यक्ष नेपाल रहेको र पाकिस्तानमा आयोजना हुने आगामी सार्क सम्मेलन सम्पन्न गराउन ओली असमर्थ भए नेपाल कूटनीतिकरुपमा असफल हुने मसालले चेतावनी दिएको छ । तर, त्यसको दोष भारतकै हुने मसालका महामन्त्री सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?